बारा । बाराको अमलेखगञ्जमा पिकअप गाडीको ठक्करबाट वृद्धको मृत्यु भएको घटनामा फरार चालक पक्राउ परेका छन् । चालक पक्राउ परेसँगै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले अवरुद्ध गरेको पथलैया–हेटौँडा सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिमल खतिवडाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका १४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनार रहेका छन् ।
सोनारलाई मकवानपुरको रातेमाटो चेकपोस्टबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०३–००१ च १७७७ नम्बरको पिकअपले जीतपुरसिमरा उपमहानगरपालिका २२ निवासी करिब ६७ वर्षीय रामबहादुर थिङलाई अमलेखगञ्जमा ठक्कर दिएको थियो । ठक्करबाट थिङको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि चालक पिकअपसहित फरार भएका थिए । चालक फरार भएपछि आक्रोशित स्थानीयले उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेका थिए । त्यसका कारण आइतबार बिहानैदेखि पथलैया–हेटौँडा सडकखण्डमा सवारी साधनको आवागमन प्रभावित भएको थियो ।
प्रहरीले फरार चालकलाई पक्राउ गरेपछि स्थानीयले अवरोध हटाएका छन् । सडक पुन: सञ्चालनमा आएसँगै उक्त मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारी साधनलाई सहज भएको प्रहरीले जनाएको छ ।
मृतक थिङको शव पोस्टमार्टमलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । दुर्घटनाको कारण र घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




