जनकपुरधाम । धनुषा प्रहरीले ध्वनि प्रदूषण गर्ने, तीव्र गतिमा चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन् । ठूलो आवाज निकाल्ने, तीव्र गतिमा जिगज्याग शैलीमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका मोटरसाइकललाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये केहीमा नम्बर प्लेट नरहेको र एउटा मोटरसाइकलमा परीक्षण नम्बर प्लेट प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । ती मोटरसाइकलमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी खनालले बताए ।
चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढ्ने तथा लापरबाहीपूर्ण रूपमा सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले प्रहरीले ट्राफिक व्यवस्थापन र सुरक्षा अभियानलाई तीव्रता दिएको हो ।
डीएसपी खनालले जिल्लावासीलाई ट्राफिक नियमको पूर्ण पालना गरी सवारी साधन चलाउन आग्रह गरेका छन् । सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीको अभियानमा सहयोग गर्नसमेत उनले अनुरोध गरेका छन् ।




