नवलपुर । नवलपुरको नारायणी नदी किनारमा फेला परेका शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट हुँदा तीन जना घाइते भएका छन् । कावासोती नगरपालिका १७ स्थित अमलटारीघाट र त्रिवेणीस्थित भन्सार कार्यालय नजिक यस्ता घटना भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहान मध्यविन्दु नगरपालिका ३ ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले नारायणी नदी किनारमा अज्ञात वस्तु फेला पारेका थिए । बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको, भित्री भाग फलामजस्तो देखिने र बेलुनाकार रहेको उक्त वस्तु उनले घरमा ल्याएका थिए ।
पछि कवाडी व्यवसायीको सहयोगमा ह्याक्सा ब्लेडले उक्त वस्तु काट्ने क्रममा अचानक विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा बोटेसहित दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
घटनामा बोटेका दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ । त्यस्तै, भारतको मोतिहारी घर भई हाल कावासोती नगरपालिका ८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारको बायाँ हातको हत्केलामा गहिरो चोट लागेको छ । उनको बायाँ आँखाको दृष्टिमा समेत समस्या आएको प्रहरीले जनाएको छ ।
दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, त्रिवेणीस्थित भन्सार कार्यालय नजिक पनि यस्तै प्रकृतिको शंकास्पद वस्तु विस्फोट हुँदा थप एक जना घाइते भएका छन् । उनको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।
बाढीले विस्फोटक पदार्थ बगाएर ल्याएको हुन सक्ने आशंका
प्रहरीले हाइड्रोपावरमा विस्फोट गराउन प्रयोग गर्ने उद्देश्यले राखिएको विस्फोटक पदार्थ भदौ १० गते आएको विनाशकारी बाढीले बगाएर ल्याएको हुन सक्ने आशंका गरेको छ । यद्यपि, वस्तुको वास्तविक प्रकृति र विस्फोटको कारण पुष्टि हुन बाँकी रहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले नारायणी नदी किनारलगायत अन्य स्थानमा शंकास्पद वा अज्ञात वस्तु फेला परेमा नछुन, नचलाउन तथा काट्ने वा खेलाउने प्रयास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता वस्तु देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न र सम्भावित दुर्घटनाबाट बच्न प्रहरीले अनुरोध गरेको छ ।




