रौतहट । रौतहटको चन्द्रपुरबाट चोरी भएको २०० सीसीको एनएस मोटरसाइकल गुजरा नगरपालिका २ स्थित एक वर्कसपमा पार्टपुर्जा खोलिएको अवस्थामा फेला परेको छ । मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत असोज २४ गते राति चन्द्रपुर नगरपालिका ७ नयाँबस्तीबाट मधेश प्रदेश ०३–०४६ प ३६५२ नम्बरको एनएस मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएको मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले असोज २५ गते बिहान करिब ६ः३० बजे गुजरा नगरपालिका २ कटानी टोलस्थित शुभनारायण साहको घरमा सञ्चालनमा रहेको मोटरसाइकल वर्कसपमा छापा मारेको थियो । सो क्रममा मोटरसाइकलको ट्याङ्की, चक्कालगायतका विभिन्न पार्टपुर्जा खोलिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय बैधनाथ चौधरीका २४ वर्षीय छोरा राहुल चौधरीले उक्त वर्कसप सञ्चालन गर्दै आएका थिए । मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको आरोपमा वृन्दावन नगरपालिका १० का १९ वर्षीय अर्जुन चौधरी तथा पर्साको वीरगन्ज महानगरपालिका ३१ का १९ वर्षीय आनन्द गौरो र शिवशंकर दास थारूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासतमा राखिएको छ । उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




