धनगढी । कैलालीको गोदावरीमा भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गोदावरी नगरपालिका ४ को वनदेवी मन्दिर अगाडि सुपप्र ०१००१ ह ८६३३ नम्बरको अटो र सुपप्र ०१००९ प ९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका १ बस्ने निरज रावत, पछाडि सवार गोदावरी ४ लालपुर बस्ने ४६ वर्षीय भरत बुढा, अटोमा सवार चुरे गाउँपालिका ५ खानीडाँडास्थित ससुराली घर आएका ३१ वर्षीय भीमबहादुर महतरा गम्भीर घाइते गम्भीर घाइते भएका छन् ।
यस्तै, चुरे गाउँपालिका ५ निवासी ४० वर्षीय चन्द्रबहादुर राना, ३० वर्षीया श्रीमती मेनुका महतरा र उनका डेढ वर्षीय छोरा रिदम महतरा पनि घाइते भएका छन् । उनीहरूको धनगढीको निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ, भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




