सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ कट्टी परवाहा टोलमा पाँच वर्षीय बालक सुमित मण्डलको सर्पदंशबाट मृत्यु भएको छ । बुधबार घरको आँगनमा खेलिरहेका बेला सर्पले डसेपछि तत्काल उपचारका लागि अस्पताल लैजानुको सट्टा परिवारले धामीझाँक्री बोलाएर झारफुक गराउँदा उनको ज्यान गएको हो ।
करिब आधा घण्टासम्म झारफुकमा समय बिताएपछि बालकको अवस्था गम्भीर बनेको थियो । त्यसपछि उनलाई कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल र पछि गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार बालकलाई अस्पताल पुर्याउनुअघि नै उनको मृत्यु भइसकेको थियो । उनले भने, “सुमितलाई सुरुमै अस्पताल पुर्याइएको भए ज्यान जोगिन सक्थ्यो होला ।”
अस्पतालले मृत घोषणा गरेपछि पनि आफन्तले अन्धविश्वासका कारण अस्पतालको प्रवेशद्वारमा शव राखेर पुन: झारफुक गराएका थिए । त्यतिले नपुगेर उनीहरूले शवलाई सीमावर्ती भारतीय बजार महादेवमण्ठस्थित एक धामीको घरमा समेत लगेका थिए ।
अन्त्यमा, बिहीबार मात्र आफन्तले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा बुझाएका छन् । सर्पदंशको घटनामा अस्पताल जानुको सट्टा झारफुकमा समय बिताउने प्रवृत्तिले बालबालिकाको जीवन जोखिममा पर्ने गरेको चिकित्सकहरू बताउँछन् ।




