रौतहट । रौतहटमा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत केसी जिल्लाकै उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन् ।
७१ औँ प्रहरी दिवस २०८३ का अवसरमा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा शुक्रबार आयोजित विशेष समारोहमा उनलाई उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मान गरिएको हो । मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले उनलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरे ।
प्रहरीको जिम्मेवारी केवल अपराध अनुसन्धान र नियन्त्रणमा सीमित नभई नागरिकलाई सुरक्षित वातावरणको प्रत्याभूति दिलाउनु पनि हो । यही जिम्मेवारी निर्वाहका क्रममा इन्स्पेक्टर केसीले देखाएको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।
प्रहरी संगठनमा कार्यक्षमता, अनुशासन र कर्तव्यनिष्ठतालाई प्रोत्साहन गर्ने उद्देश्यले दिइने यस्ता सम्मानले प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार, इमानदार र नागरिकमैत्री भएर काम गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
रौतहट जिल्लाकै उत्कृष्ट प्रहरीको सम्मान प्राप्त गरेपछि इन्स्पेक्टर केसीलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना प्राप्त भइरहेको छ । उनको यो सम्मानलाई प्रहरी सेवाप्रतिको समर्पण, जिम्मेवारीबोध र प्रभावकारी कार्यसम्पादनको उच्च कदरका रूपमा हेरिएको छ ।




