रौतहट । रौतहटमा यात्रुवाहक बस जाँचका क्रममा एक १७ वर्षीय किशोरको झोलाबाट प्रहरीले १४७ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ । शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बिर्ताबाट खटिएको संयुक्त टोलीले गरुडा नगरपालिका ८ बिर्ता चोकमा सवारी साधन जाँच गर्ने क्रममा ती किशोरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ४७०४ नम्बरको बस जाँच गर्दा तनहुँको शुक्लागण्डकी नगरपालिका ३ कार्कीडाँडाका १७ वर्षीय नवीन विकले बोकेको झोलामा कालो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा लागूऔषध फेला परेको थियो ।
झोलाबाट प्रोमथाजिन, सेरेजेक र नुफिन नामक लागूऔषध जनही ४९ का दरले कुल १४७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमद्वारा शनिबार जारी विज्ञप्तिअनुसार पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको छ ।




