सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको अवस्थामा फेला पारिएको छ । कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धान खेतमा हात्तीलाई खाल्डो खनेर गाडेको अवस्थामा फेला पारिएको हो ।
नियमित गस्तीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीलाई गाडिएको अवस्थामा फेला पारेको हो । डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा फेला पारिएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले मृत हात्तीको पोस्टमार्टम गरिरहेको जनाएको छ । हात्तीलाई दुईदेखि तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशङ्का गरिएको ठाकुरले जानकारी दिए ।
हात्तीको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको समेत कार्यालयले जनाएको छ ।
पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मृत हात्तीलाई पुनः खाल्डोमा गाडिने जनाइएको छ । हात्तीको मृत्यु कसरी भयो र घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषय अनुसन्धानपछि खुल्ने बताइएको छ ।




