रौतहट । रौतहटको गरुडा नगरपालिका ८ बिर्ता चोकबाट प्रहरीले शनिबार ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ । गौरबाट वीरगञ्ज जादै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा लागुऔषधको अवैध ओसारपसार भइरहेको खुल्न आएको हो ।
जिल्ला प्रहरीका अनुसार, गौरबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ४७०४ नम्बरको यात्रुवाहक बसलाई गरुडा नगरपालिका ८ स्थित बिर्ता चोकमा नियमित सुरक्षा जाँच गर्न रोकिएको थियो ।
जाँचका क्रममा बसमा सवार यात्रुहरुको झोला र सामान खानतलासी गर्दा तनहुँ, शुक्लागण्डकी नगरपालिका ३ कार्की डाँडाघर भएका १७ वर्षीय नवीन विकको साथमा रहेको झोलाबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
विकको साथबाट कालो रङको प्लास्टिकमा बेरिएर लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित सुईजन्य लागुऔषधका विभिन्न प्रकारका एम्पुलसहित फेला परेको जिल्ला प्रहरीका डीएसपी बसन्त गौतमले जानकारी दिए ।
पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको डीएसपी गौमले बताए ।
पछिल्लो समय भारतीय सीमा क्षेत्रमा लागुऔषधको कारोबार बढेको पाइएको छ । सिमापारि नेपालमा प्रतिबन्धित औषधि बिक्री गर्दै आएको प्रहरीको ठम्याइ छ ।




