काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिकै मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
आइतबार राति बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काठमाडौं महानगरपालिका ६ तिनचुली बस्ने भारतका १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ ।
दुर्घटना लगत्तै उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले बाटोमै उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक रौतहटका १८ वर्षीय मोहन ठाकुर घाइते भएका छन् ।
नेपाल मेडिकल कलेज अत्तरखेलमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।




