बारा । बाराको सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा आतंक मच्चाउँदै आएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ ।
कुकुरले सोमबार बिहान मन्दिर जाँदै गरेकी मन्दिरा रिजालमाथि आक्रमण गरेको थियो । कुकुरको टोकाइबाट रिजालको मुखमा गम्भीर चोट लागेको छ भने ओठको भाग लुछिएको छ । उनलाई उपचारका लागि वीरगञ्ज लगिएकामा थप उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार कुकुरको टोकाइबाट घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने सात जनालाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको छ ।
कुकुरलाई नियन्त्रणमा लिन सोमबार बिहानदेखि प्रयास गरिएको भए पनि नगर प्रहरीको सहयोगमा सोमबार साँझ मात्रै नियन्त्रणमा लिन सकिएको श्रेष्ठले बताए ।
‘यो कुकुरले जसलाई भेट्यो, सिधै मुखमा टोक्न आउने खालको रहेछ,’ उनले भने । उक्त कुकुरले केही दिनअघि सोही क्षेत्रमा तीन वर्षीया बालिका आयंका तामाङलाई टोकेर मुख र चिउँडोमा गम्भीर चोट पुर्याएको थियो ।
बस्तीमा कुकुरको आतंक बढेपछि स्थानीयले सोमबार जनप्रतिनिधिलाई जानकारी गराएका थिए । नगर प्रहरी, जनप्रतिनिधि र स्थानीय युवाले कुकुरको खोजी गर्ने क्रममा थप सात जनालाई कुकुरले टोकेको वडाध्यक्ष श्रेष्ठले बताए ।
एक सातादेखि बस्तीमा कुकुरको आतंक बढेपछि नगरप्रमुख राजन पौडेलले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सचेत रहन आग्रह गरेका थिए । उनले उक्त कुकुर देखेमा तत्काल सूचना दिन पनि अनुरोध गरेका थिए ।




