वीरगन्ज । तराई मधेशमा बडा दशैँलाई दशहरा, दुर्गापूजा, नवरथा वा नवरात्रिका नामले मनाइन्छ । देवी दुर्गाको आराधनामा केन्द्रित यो पर्व धार्मिक आस्था, लोकसंस्कृति र सामूहिक सहभागिताको विशिष्ट सङ्गमको रूपमा मानिन्छ ।
गाउँका देवी स्थानदेखि सहरका भव्य पण्डालसम्म फैलिने दशहराको रौनकमा मातालाई खोइच भर्ने परम्परा, धार्मिक मेला, झिझिया नृत्य र सामूहिक पूजाले विशेष महत्त्व राख्ने गरेको छ ।
तराई मधेशमा दशहराको तयारी घटस्थापना अघिदेखि नै सुरु हुन्छ । पूजा समिति गठन गर्ने, चन्दा सङ्कलन गर्ने, पण्डाल बनाउने र माटोका देवीदेवताको प्रतिमा तयार पार्ने काम करिब एक महिना अगावैदेखि गरिन्छ ।
घटस्थापनाका दिन घर तथा आँगन सफा गरी पूजा आरम्भ गरिन्छ भने कतिपय स्थानमा यो दिनलाई ‘कलस्थापन’ पनि भनिन्छ । कतिपय परिवारले घरमै जौको जमरा उमार्छन् भने धेरै ठाउँमा सामूहिक रूपमा जमरा राख्ने चलन पनि छ ।
वीरगन्जका अभिषेक कुमारले आफू तीन वर्षदेखि दशैँको विशेष नौ दिनसम्म व्रत बस्ने गरेको र यसले मनमा ऊर्जा मिल्ने गरेको बताउँछन् ।
सामूहिक दुर्गा पूजा र देवी स्थानको महत्त्व
तराई मधेशको दशहराको प्रमुख विशेषता सामूहिक रूपमा दुर्गा पूजा गर्नु पनि हो । गाउँ टोलका स्थानीय बासिन्दाहरू मिलेर खर्च जुटाउने र पूजा व्यवस्थापन गर्ने परम्परा रही आएको छ ।
कतिपय समुदायमा ग्रामदेवीलाई ‘सातोमाई’ तथा ग्रामदेवतालाई ‘ब्रह्मबाबा’ वा ‘दिहबार’ का रूपमा श्रद्धा गरिन्छ । नवरात्रिका बेला यस्ता देवीदेवताको स्थानमा पूजा, दीप प्रज्वलन र भाकल गर्ने चलन रहेको पण्डित पुरुषोत्तम दुबे बताउँछन् ।
वीरगन्जको गहवामाई, विन्दवासिनी माई, वैष्णोदेवी, बाराको गढीमाई र जनकपुरको राजदेवी लगायतका शक्ति पीठमा श्रद्धालुको चहलपहल बढ्ने गरेको छ । तर अत्यधिक खर्च गर्ने प्रतिस्पर्धा पनि बढ्नु पर्वको बदलिँदो स्वरूप र चुनौतीको विषय रहेको सांस्कृतिविद् औँल्याउँछन् ।
झिझिया नृत्य : मधेशको मौलिक पहिचान
तराई मधेशको दशहरासँग जोडिएको एक प्रमुख लोकपरम्परा झिझिया नृत्य हो । विशेष गरी मिथिला क्षेत्रमा प्रचलित यस नृत्यमा महिलाहरूले धेरै प्वाल पारिएको माटोको घैँटोभित्र दियो बालेर टाउकोमा राख्छन् र गीत गाउँदै नाच्छन् ।
घटस्थापनादेखि सुरु हुने झिझिया कतिपय ठाउँमा दशमीसम्म र कतै पूर्णिमासम्म चल्छ । जनकपुरकी शोभा मिश्राले नृत्यका गीतमा आसुरी शक्तिको विरोध र नकारात्मकतामाथि सकारात्मकताको विजयको भाव व्यक्त गरिने बताउँछिन् । झिझिया महिलाको सामूहिक सहभागिता र मौखिक लोकसंस्कृति संरक्षणको परम्पराका रूपमा पनि हेरिन्छ ।
फूलपातीमा खोइच भर्ने चलन
फूलपातीका दिन दुर्गा भगवतीलाई खोइच भर्ने विशेष परम्परा छ । महिलाहरूले स्नान गरी पूजा गरेपछि साडीको आँचल थापेर फूल, अक्षता र अन्य पूजा सामाग्री देवीलाई अर्पण गर्छन् । यसरी खोइच भर्दा मनोकामना पूरा हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि आउने जनविश्वास छ ।
सर्लाहीकी मञ्जु देवीका अनुसार नव विवाहित महिलालाई माइत वा ससुरालीसँग जोडिएका संस्कारमा खोइच दिने चलन छ । देवीलाई खोइच अर्पण गर्ने परम्पराले धार्मिक आस्थासँगै पारिवारिक संस्कार र महिलाको सांस्कृतिक सहभागिता प्रतिबिम्बित गर्छ ।
पूजा, व्रत र बली परम्परा
नवरात्रिका बेला मधेशका विभिन्न स्थानमा नियमित पूजा, आरती र व्रत गरिन्छ । कतिपय ठाउँमा घटस्थापनामा स्थापना गरिएको दुर्गाको प्रतिमाको आँखा छोपेर सप्तमीका दिन खोल्ने चलन छ ।
अष्टमी वा नवमीमा भाकलअनुसार खसी, बोका, राँगा, हाँस वा परेवाको बलि दिने परम्परा केही शक्ति पीठमा प्रचलित छ । शाकाहारी भक्तजनले कुभिन्डो र घिरौँलाजस्ता तरकारीलाई प्रतीकात्मक बलिका रूपमा चढाउँछन् ।
नवमीका दिन नौ कन्यालाई भोजन गराउने चलनलाई कुमारी भोजन भनिन्छ । दशमीमा देवीको पूजा तथा विसर्जन गरिन्छ । कतिपय समुदायमा जमरा र टीका लगाउने चलन छ ।
मेला, नेटुवा नाँच र कुस्तीको आकर्षण
दशहराका बेला मधेशका विभिन्न मन्दिर, शक्तिपीठ र धार्मिक स्थलमा मेला लाग्छ । मेलामा खेलौना, मिठाई र स्थानीय परिकारका पसल राखिन्छन् । कतिपय स्थानमा नेटुवा नाच, लोकनृत्य, भजनकीर्तन र रामलीला आयोजना गरिन्छ ।
भाकल गरेकाहरूले आँचल, रुमाल वा गम्छामाथि नेटुवा नाच्न पवरिया नाम दिइएका मानिसहरूमार्फत् नाच्न लगाउने र माताको आशीर्वाद लिने परम्परा छ । वीरगञ्जकी भाग्यमनी देवीका अनुसार घरमा समस्या पर्दा वा बिरामी निको होस् भनेर भाकल गरी पारम्परिक नेटुवा नाँच गराएर माताको आशीर्वाद लिने चलन छ ।
पहिले गाउँगाउँमा नेपाल तथा भारतका पहलवानबीच ‘दंगल’ भनिने कुस्ती प्रतियोगिता आयोजना गर्ने चलन थियो । अहिले केही ठाउँमा रामलीला, परम्परागत नाच र कुस्ती प्रतियोगिता घट्दै गएका छन् भने कतै आधुनिक गीतसङ्गीत र डीजेले स्थान लिएको देखिन्छ ।
मधेशमा वर्षे धान भित्र्याएपछि र अर्को बालीको काम सुरु हुनुअघिको समय धेरै किसानका लागि फुर्सदिलो समय हुन्छ । यही अवधिमा दसहरा, दीपावली र छठजस्ता पर्व पर्ने भएकाले गाउँबस्तीमा उत्सवको माहोल हुन्छ ।
पर्वका लागि पूजा सामाग्री, खाद्यान्न, लत्ता कपडा र मिठाई किन्न मानिसहरू बजार पुग्ने गरेका छन् । मेला र हाटबजारमा व्यापारी तथा साना व्यवसायीको कारोबार बढ्छ भने टाढा टाढा रहेका मानिस आफन्त परिवारसँग भेटघाट गर्न फर्कन्छन् ।
यसरी पर्वले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै पारिवारिक तथा सामाजिक सम्बन्ध नवीकरण गर्ने अवसर दिने गरेको महोत्तरीकी बुधनी देवी बताउँछिन् । बीबीसी न्यूज नेपाली




