पोखरा । कास्कीमा जारी भएको लकडाउन खुलेको छ । दोस्रो कोरोना संक्रमण नियन्त्रण गर्न बैशाख १५ गतेदेखि जारी भएको लकडाउन असोज १ गतेदेखि खुलेको हो । लकडाउन खुलेसँगै अब पोखरा र समग्र कास्की जिल्लामा स्कुल, होटल, रेष्टुरेण्ट, रात्रीकालीन व्यवसाय, क्लब, दोहोरी साँझ, डान्सबार लगायत खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
लामो समय लकडाउनको मारमा परेको पर्यटन व्यवसाय लकडाउन खुलेसँगै लयमा आउने विश्वासमा छन् । लकडाउन खुलेसँगै अब आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम सुरु गर्दै छुटका कार्यक्रम घोषणा गर्ने तयारीमा पोखराका पर्यटन व्यवसायी छन् । यस अघि पहिलो लकडाउन खुकुलो भए पनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन् ।
पछिल्लो दिनमा कोरोना संक्रमण र मृत्युदर घटेको कारण लकडाउन खुला गर्ने निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार साँझ जारी गरेको आदेशमा स्वास्थ्य सतर्कता अपनाएर सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ । यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार र पर्यटकीय स्थलको समय बढाइएको छ ।
पोखराका होटल तथा रेष्टुरेन्ट राति साढे ११ बजेसम्म खोल्न पाइने उल्लेख गरिएको छ भने डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजेसम्म संचालन गर्न पाइने आदेशमा उल्लेख छ । लकडाउन खुला गरिए पनि संक्रमण दर बढ्दै गएमा जुनसुकै बेला थप आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।







