जनकपुरधाम । श्रीमान्को हत्या गरेको आरोपमा एक महिला र उनका प्रेमी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटी टोलकी ३८ वर्षीय हरिहरदेवी महरा र उनका प्रेमी भारतको मधुवनी जिल्ला देउधाका २६ वर्षीय मुकेश यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
हरिहरलाई आइतबार पक्राउ गरिएको हो । भदौ १८ गते भारतको विहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा सिरहा गोलबजार–४ का ३९ वर्षीय दुखरन महरा मोचीको शव फेला परेको थियो । अवैध सम्बन्ध र घरेलु हिंसाको कारण प्रेमीसँग मिलेर श्रीमतीले आफ्नो श्रीमान्लाई भारतमा लगेर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चार जना छोराछोरी रहेको दुखरन १० वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।
कतारबाट फर्केपछि विदेशबाट पठाएको पैसा कहाँ खर्च गरेको भनेर मादक पदार्थ सेवन गरी श्रीमतीलाई बारम्बार कुट्ने गरेको खुलेको प्रवक्ता बुढाथोकीले बताए । श्रीमान्को बारम्बारको यातनाको कारण हरिहरदेवीले २ पटक आत्महत्या गर्ने कोसिस गरेको तर छोराछोरीको भविष्य सम्झेर आफू मर्नुभन्दा श्रीमान्लाई मारे समस्या समाधान हुने सोचेर हत्या गराएको हरिहरदेवीले प्रहरीसमक्ष बयान दिएकी छन् ।
दुई वर्षअघि उपचार गराउन भारत जाँदा गएको एम्बुलेन्स चालक मुकेश यादवको प्रेममा परेकी हरिहरदेवीले श्रीमान्ले धेरै दुःख दियो, उसलाई मार्नुपर्यो भनी सल्लाह गर्दा प्रेमीले श्रीमान्को हत्या गराउन भारतीय १ लाख रुपैयाँ लाग्ने भनेका थिए । श्रीमान्को हत्या गराउने उद्देश्यले हरिहरदेवीले घर खर्चको अभाव भयो ऋण निकाल्नुपर्छ भनी श्रीमान्सँग सल्लाह गरी भदौ १७ गते छिमेक लघुवित्तबाट ६० हजार ऋण लिएकी थिइन् ।
ऋण लिएपछि आफूलाई सन्चो नरहेको भन्दै उपचारका लागि श्रीमान्लाई भारत लगेकामा साँझ करिब ६ बजे जयनगर रेलवे स्टेसनमा प्रेमीसँगै तीनै जनाले चिया खाएको र खाजा, नास्ता गर्न जाऊँ भनी प्रेमीले मोटरसाइकलमा राखी दुखरनलाई लगेर अन्य २ जना भारतीय नागरिकको सहयोगमा घाँटी काटेर हत्या गरेर ६० हजार रुपैयाँ लिइ फरार भएको अनुसन्धानका क्रममा खुलेको छ ।
घटनापश्चात् हरिहरदेवी भदौ १८ गते बिहान जयनगरबाट आफ्नो घर गोलबजार फर्केकी थिइन् । सिरहा प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा घटनामा संलग्न प्रेमी पक्राउ परेका हुन् । भारतीय प्रेमीलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखी थप अनुसन्धान थालेको छ ।






