सर्लाही । मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका नरेश चौधरीलाई पक्राउ गरेको छ । पीडितहरुबाट जाहेरी आएपछि अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौरले पुष्टी गरेका छन् ।
चौधरीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्वन्धी कसुरमा अनुसन्धानका लागि मंगलवार सर्लाही जिल्ला अदालतले प्रहरीलाई ५ दिनको म्याद प्रदान गरेको छ । चौधरीले विपन्न नागरिकलाई मिटर ब्याजमा ऋण लगाएर उठिबास गराएको अरोप छ ।
उनले मिटर ब्याजमा ऋण लगाउने र दृष्टिन्धक भनेर जग्गा जमिन रजिष्टेसन पास गरेर ठगी गर्दै आइरहेकोबारे संचार माध्यममा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले समेत यस बारेमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
चौधरी सोमबार साँझ घरबाटै पक्राउ परेका हुन् । एसपी राठौरका अनुसार अहिलेसम्म ३ जनाको उजुरी परिसकेको र थप केही व्यक्तिहरुले वुधवार पनि उजुरी लिएर आउने बताएका छन् ।
चौधरीलाई हिरासतमा लिएर अनुसन्धान जारी नै रहेकाले थप कुराहरु खुल्न बाँकी नै रहेको प्रहरीले बताएको छ । सर्लाही प्रहरीले यसअघि मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवार र रामबाबु राय यादवलाई पनि पक्राउ गरेको थियो ।






