काठमाडौं । सरकारले आज सोमबारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । तर लाखौँ मानिसहरू यात्रा गर्ने देशका विभिन्न रार्जमार्गको अवस्था भने नाजुक छ । मनसुनका कारण देशभरका साना–ठूला गरी दर्जनभन्दा बढी सडकखण्ड अवरुद्ध रहेका छन् । त्यस्तै अहिले कतिपय सडकहरू एकतर्फी सञ्चालन भइरहेको छ ।
देशभरका विभिन्न राजमार्गका झण्डै १२ स्थानका सडक पूर्णरुपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ । अवरुद्ध रहेका सडक सञ्चालन गर्न विभागले सम्बन्धित राजमार्गहरूलाई निर्देशन दिई काम गरिरहेको जनाएको छ । विभागका अनुसार बाजुराको साँफेबगर–मार्तडी–कोल्टीको बल्दे अम्कोट सडक अवरुद्ध भएको छ ।
मनाङ जिल्लाको डुम्रे–बेँशीसहर–चामे राजमार्गको तिमाङ छहरा खण्ड अवरुद्ध भएको छ । त्यस्तै, पाल्पाको पीपलडाँडाको सडक अवरुद्ध भएको छ । त्यस्तै अमेलिया–तुल्सिपुर–शीतलपाटी–थारमारे–मुसीकोट सडकखण्ड अन्तर्गतको शंखमुलको सडक अवरुद्ध भएको छ ।
काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्ड अन्तर्गतको गौडे पुल अवरुद्ध भएको छ । डुम्रे–बेँशीसहर–चामेको तिमाङ खोला, सोही सडक खण्डको धारापानी, बगरछाप, रामबजार, अर्खले लगायतका सडक खण्ड अवरुद्ध भएका छन् ।
त्यस्तै, डोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशुली–वेत्रावती, मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी अन्तर्गतको त्रिशुली खोला, सानो भार्खु खोला गाँजाबारी सडक खण्ड अवरुद्ध छ । त्यस्तै, काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक अन्तर्गतको जुरे सडक खण्ड अवरुद्ध भएको छ ।
खाड्पे–चैनपुर अन्तर्गतको चैनपुर सडक खण्ड पनि अवरुद्ध भएको छ । विभागका महानिर्देशक थापाले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग अन्तगतको बेलहिया–भैरहवा–बुटवल–वर्तङ–स्याङजा–पोखरा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।




