एजेन्सी । राबिया आफ्नो नवजात शिशु काममा राखेर विस्तारै विस्तारै थपथपाइ रहेकी छिन् । केही दिन पहिले मात्रै अफगानिस्तानको पूर्वी हिस्सामा रहेको नान्गरहार प्रान्तको एउटा सानो अस्पतालमा बच्चाको जन्म भएको थियो । राबिया भन्छिन्, ‘यो मेरो तेस्रो बच्चा हो । तर यसपटकको अनुभव विल्कुल फरक थियो । डरलाग्दो थियो ।’
राबियाले अस्पतालको जुन प्रसूति विभागमा बच्चा जन्माइन्, त्यहाँको आधारभुत सुविधाहरु समेत पछिल्लो समय हटाइएको छ । बच्चा जन्माउने क्रममा राबियालाई दुखाइ कम गर्ने औषधि र खाना समेत दिइएन । अस्पतालको तापक्रम ४३ डिग्री सेन्टिग्रेट पुगेको थियो । त्यहाँको बिजुली काटियो, जेनेरेटर चलाउनका लागि तेल पनि थिएन ।
स्वास्थ्यकर्मी आबिदा भन्छिन्, ‘हाम्रो शरीरबाट पसिना बगिरहेको थियो, जसरी नुहाउँदाको समय हातबाट पानी चुहिन्छ ।’ उनले राबियाको बच्चा जन्माउने समय मोबाइल फोनको लाइट प्रयोग गरिन् । विना थकित, निरन्तर ।
समस्याका बिच पनि सुरक्षित बच्चा जन्माएका कारण राबियालाई भाग्यशाली मान्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रसवको समय हुने मृत्यु र नवजात शिशुको मृत्यु दरको हिसाबले अफगानिस्तानको स्थिति विश्वमै खराब छ । त्यहाँ प्रतिलाख बच्चाको जन्मको समय ६३८ महिलाको मृत्यु हुन्छ ।
पहिले स्थिति अझै खराब थियो । २००१ मा भएको अमेरिकी हमला पश्चात स्थिति सुध्रियो तर समस्या फेरि बढ्दै गयो । संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए) कि कार्यकारी निर्देशक नटालिया कानम भन्छिन्, ‘अब निराशा बढिरहेको छ । म उसको बोझ महसुस गर्न सक्छु ।’
सरकारी स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब पाएका छैनन् । आबिदा पनि उनीहरुमध्ये एक हुन् । यद्यपी विना तलब पनि उनी अर्को दुई महिनासम्म काम जारी राख्ने बताउँछिन् ।
जर्मीना भन्छिन्, ‘अहिले स्थिति झन् खराब भएको छ । मैले गर्भवती महिलालाई पुरै दिन एक क्लिनिकमा औषधिका लागि उभिएको देखेँ । तर उनी खाली हात फर्किनुपर्यो । मलाई अस्पतालको सट्टा घरमा नै बच्चा जन्माउनु ठिक लाग्छ, किनकी यहाँ कुनै सुविधा छैन ।’
अर्की २८ वर्षीय लीना भन्छिन्, ‘तालिबान सत्तामा आउनु पहिले एक क्लिनिकले मलाई कुपोषित भन्यो । ममा रगतको कमी पाइयो । म गर्भवती हुँ । तालिबानले सत्ता कब्जा गरेपछि मेरो श्रीमानको जागिर गुम्यो । पैसा नहुँदा र तालिबानको डरले दोस्रो पटक अस्पताल गएको छैन ।’ जब आपतकालिन स्थिति आयो तब उनका श्रीमानले उनलाई गधामा बसाएर अस्पताल लगे । उनले भनिन्, ‘एक दाईले मेरो बच्चाको जन्म गराइदिए । बच्चाको तौल निकै कम थियो ।’
लीना अहिले घरमा नै छिन् । उनको स्वास्थ्य स्थिति खराब छ । पैसा नहुँदा बच्चालाई कसरी पाल्ने उनले सोच्नै सकेकी छैनन् ।
अफगानिस्तानमा हेल्थकेयर सिस्टम सुधार नहुने स्थितिमा पुग्ने धेरैको आशंका छ । यस्तो स्थितिमा सबैभन्दा बढी असर र समस्या गर्भवती, भर्खरै आमा बनेका महिला र साना बच्चाहरुलाई पर्न सक्ने बीबीसीले जनाएकाे छ ।
स्वास्थ्य सेवाको स्थिति पहिले नै खराब थियो । त्यसमाथि तालिबानले महिलामाथि जुन किसिमको प्रतिबन्धहरु लगाएको छ, यसले स्थिति झन् खराब बनेको छ । तालिबानले महिलालाई बुर्काले अनुहार ढाक्न भनेको छ ।






