एजेन्सी । आफ्नो घरको छतमा राखेको पानीट्यांकीमा एक १७ वर्षीयु युवतीको शव भेटिएको छ । भारतको हरियाणाको यमुनानगर जिल्लाकी १७ वर्षीय तन्नुको शव आफ्नै घरको पानीट्यांकीमा भेटिएको हो । परिवारलाई सो कुरा धारमा पानी आउन बन्द भएपछि मात्रै थाहा भयो । मृतकका बहिनीका अनुसार पानी ट्यांकीको बिर्को आधा खुला थियो ।
मृतकको बहिनी घरको पहिलो तल्लामा बस्छिन् भने उनको अर्को दिदी आफ्नो श्रीमानसँग अर्को कोठामा बस्थिन् । प्रायजसो उनी आफ्नो बहिनीको कोठामा आमासँग बसेर अबेर रातसम्म टिभी हेर्ने गर्थिन् । परिवारका अनुसार कयौं पटक दिदीको कोठामै उनी सुत्थिन् । गएको रात पनि तन्नु आमासँग आफ्नी दिदीको घरमा टिभी हेरिरहेकी थिइन्, केही समयपछि उनले आमालाई जान भन्दै आफू यहीँ सुत्ने बताइन् ।
बिहान जब तन्नुकी आमाले छतमा बस्ने छोरीलाई तन्नुलाई तल पठाउन भनिन्, तब उनले तन्नु राति नै तल आएको बताइन् । छोरी कहाँ गइन् उनीहरुले पत्तो पाएनन् । केही समयपछि धारामा पानी आउन बन्द भयो । आमाले सानी छोरीलाई पानी ट्यांकी चेक गर्न लगाइन् । जब छोरीले पानी ट्यांकीमा हेरिन् तब उनी चिच्याउन थालिन् । पानी ट्यांकीभित्र दिदीको शव देखेपछि उनी आत्तिइन् ।
प्रहरी पनि घटनाको खबर पाउनेबित्तिकै पुगेको छ । साथै शव प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीको सुरुवाती अनुसन्धानमा उनले आत्महत्या गरेको हुन सक्ने देखिएको छ । प्रहरीले परिवारसँग सोधपुछ गर्दै घटनाको अनुसन्धान जारी राखेको छ ।




