कञ्चनपुर । लगातारको वर्षापछि महाकाली नदीमा बाढी आएको छ । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्याएकाे छ ।
यस्तै बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ऐरी क्षेत्रका घरहरू डुबानमा परेका छन् । प्रहरीले स्थानीयवासीलाई उद्दार गरी विद्यालयमा राखेको छ ।
यस्तै लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ ।
खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा पनि पानीको बहाब उच्च रहेको सञ्चार टोलीले जनाएको छ ।
यसैगरी लगातारको वर्षाका कारण कैलालीको पहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको छ । कैलालीको फल्टुडेस्थित भीमदत्त राजमार्गमा पहिरो जाँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित बनेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीसएसपी प्रतीक बिष्टले बताए ।






