आज मानिस देश छोडेर विदेश तथा पृथ्वी छोडेर अन्तरिक्षको यात्रा गर्न चाहन्छ, तर ऊ आफ्नै देशका रमणीय प्राकृतिक स्थानहरू पुगेको हुँदैन । हामी पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मान्छौँ, हामी हाम्रै देशका पर्यटकीय स्थानहरूको बारेमा अनभिज्ञ छौँ । केही दिन अघि हामीले वन वाटिका एवम् कैलाशपुरीको यात्रा गरेका थियौं ।
आउनुहोस्, वनवाटिका । चढ्नुहोस्, भ्युटावर । र, नियाल्नुहोस्, अनुपम दृश्यहरू । सुन्दा र तस्विरमा देख्दा जति रमणीय छ, पुग्दा अझ बेग्लै अनूभूति गर्न सकिन्छ । फुर्सदमा भएका या विदाको समयमा प्राकृतिक सुन्दरताको मजा लिएर रमणीय वातावरणमा घुम्दै रमाउनेहरुको लागि निकै उत्कृष्ट स्थान हो, वन वाटिका एवम् कैलाशपुरी क्षेत्र ।

गाडीमा जान्छु भन्नेहरुका लागि सहजै रुपमा पुग्न सकिन्छ सलार्हीको हरिवन नगरपालिकामा रहेको वन वाटिकाका साथै कैलाशपुरी महादेव मन्दिर । धार्मिक महत्वका हिसाबले चर्चित कैलाश पुरी क्षेत्र ऐतिहासिक एवम् धार्मिक हिसाबले मात्र नभइ प्राकृतिक सुन्दरताको हिसाबले पनि आकर्षक देख्न सकिन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि घुमफिर गर्ने, महादेव मन्दिरको दर्शन गर्ने र वनभोजका लागि निकै महत्वपूर्ण, उपयुक्त र उत्कृष्ट क्षेत्र बन्न सक्छ वन वाटिका एवम् कैलाश पुरी क्षेत्र ।

जेहोस बाटोको तुलना गर्नुभन्दा पनि दायाँ बायाँको परिवेश नियाल्नु बढी बुद्धिमानी हुने ठहरलाई पछ्याउदै हामी अघि बढेका थियौं । हरिवनको डाडाटोलबाट बाटोको साघु¥याईसँगै पातलिन थालेको बस्तीमा हरियाली बढेर गएको देखिन्थ्यो । खेतबारीमा खुबै सुहाएको थियो फापरको हरियाली ।
जेहोस पुग्न सजिलो, हेर्दा रमाईलो, घुम्दा आनन्द आउने, वन वाटिका एवम् कैलाशपुरी एउटा राम्रो घुमफिरको गन्तव्य रहेछ । धर्म, मनोरञ्जन अनि प्रकृतिको अवलोकन गराउने एउटा सहज ठाउँ अनि मनलाई आनन्दित तुल्याउन एकचोटी पुग्नै पर्ने गन्तव्य हो । म पहिले पनि यस क्षेत्रमा पुगेको थिए तर यो पटक यो अवसर करिव १० वर्ष पश्चात जुरेको थियो ।

वास्तवमा सलार्ही जिल्लाको आकर्षक गन्तब्य यस कैलाशपुरी महादेव मन्दिर स्थलको मनोरम र आनन्दमय हाम्रो सम्पदाको संरक्षण र बजारीकरण गर्न सकेको खण्डमा यहाँको विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधार बन्ने सम्भावना देखिन्छ । यसरी आँखाले प्रशस्त सुन्दरता देखेको तर मनले रमाउन नपाएको यात्रा बन्यो कैलाशपुरी ।

प्रिय कैलाशपुरी, तिम्रो काखमा बसे र सुन्दर दृश्य हेर्ने रहर मलाई अझै पुगेको छैन । तिमीसँग त मेरो प्रेम नै बसेको आभास भएको छ । तिमी यसरी नै सुन्दर बनिरहनु । म फेरि तिमीलाई छिट्टै भेट्न आउने छु । तिम्रो सुन्दरता सबैलाई देखाउने मन छ । तिमीलाई सबैसँग चिनाउन मन छ । तिमीलाई सारा मान्छेले हेरुन् । दुनियाले तिम्रो काखमा प्रवेश गरुन् मेरो यही छ चाहना ।





