काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज (सोमबार) राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।
विश्वासको मतमाथि आज मतदान हुने कार्यसूची थियो । तर उनी त्यो प्रक्रियामा नै नगएर राजीनामा दिएर नयाँ मुख्यमन्त्री चयनका लागि बाटो खोलिदिएका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्य पार्टी फुटेर सांसदहरू विभाजित भएपछि अल्पमतमा थिए ।
प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका राजनीतिक शक्तिहरु फेरि पनि जुटेर नै अघि बढ्नुपर्ने बताए । गुट, फुटले कसैलाई फाइदा नहुने उनको भनाइ थियो ।
भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आचार्यले राजीनामा दिएसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ ।






