काठमाडाैं । सल्यान बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेकाे छ । मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो । मृतकहरूकाे सनाखत हुन बाँकी छ ।
सल्यानबाट जैतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थित थारखोलामा दुर्घटना भएको हाे । बस सडकबाट २ सय मिटर तल खसेको छ ।
बसमा ३० जना यात्रु रहेको बताइएको छ । १८ जना घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।






