मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ ।
पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् । सत्तामा रहिरन पाण्डेलाई ५५ मत आवश्यक थियो । उनको विपक्षमा ४३ मत खसेको थियो । प्रदेशसभामा १३ सांसद रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेलाई माओवादी केन्द्र २३, कांग्रेस २२ र जसपाका १ सांसदले मत प्रदान गरेका थिए ।
मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले मतदान गरेका थिए । मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएनन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बसेको थियो । नेमकिपासँग दुई सांसद छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । साेही अनुसार पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् ।






