विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेश सभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।
राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । आजको मतदानमा ७९ जना सांसद उपस्थित थिए ।
मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।
प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।






