एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यसपालिको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् ।
मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालान्ड, जर्गिन्हो, एंगोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् ।
महिलातर्फ स्टिना ब्ल्याकस्टेनिअस, एइटाना बोनमाटी, लुसी ब्रोन्ज, मागडालेना इरिक्सन, क्यारोलिन ग्राहम हानसेन, पर्निल हार्डर, जेनिफर हर्माेसो, जि सु युन, साम खेर, भीभीएन मिडेमा, एलेन ह्वाइट, एलेक्सा पुटेलास र क्रिस्टिन सिनक्लेर मनोनयमा परेका छन् ।
पुरुष प्रशिक्षकतर्फ एन्टेनियो कोन्टे, हान्सी फ्लिक, पेप ग्वार्डिओला, रोबर्टाे मान्सिनी, लियोनेल स्कोलानी, डिएगो सिमिओन र थोमस टुचेल मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, पिटर गेरहार्डसन, इमा हाएस, वेभर्ली प्रिइस्टमान र सरिना बेगमान मनोनयनमा परेका छन् ।
पुरुष गोलरक्षकमा एलिसन बेकर, जियानलुइजी डोन्नररुम्मा, इडुआर्ड मेन्डी, म्यानुयल नुयर र कास्पर स्माइकल तथा महिला गोलरक्षकमा एन कार्टिन वर्गर, क्रिस्टियन इन्डलेर, स्टेफानी लिन मारी लावी, हेडभिग लिन्डाल र एलेसा नाइहेर मनोनयनमा परेका छन् ।
फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ ।




