सर्लाही । लालबन्दी नगरपालिका–५, मेजरगन्जमा दिउँसो साँढे ३ बजेतिर स्थानीय मनोज गुप्ताको दुई तले काठको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरको पूजा कोठामा बिहान पूजा गर्ने क्रममा दियोमा बत्ती बाली छाडेकाले त्यसैबाट आगलागी भएको हो ।
आगलागीबाट कोठामा रहेको दुई वटा बाकसभित्र राखिएको सुन, नगद २ लाख ५० हजार, कपडासहितका सर सामग्री जल्दा साँढे ४ लाख बराबरको क्षति भएको पीडित मनोज गुप्ताले बताउनुभयो । आगलागी हुँदा आफू घरमा नरहेको र छरछिमेकी मिलेर निभाइदिएका गुप्ताले बताएका छन् ।
यस्तै, मंगलबार दिउँसो २ बजेतिर सर्लाहीको कविलासी नगरपालिका–१, पिपरीयामा पनि आगलागी भएको छ । थ्रेसरबाट धान झार्ने क्रममा अचानक आगलागी भएको हो । आगो निभाउन स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाको दमकललाई झण्डै ३ घण्टा लागेको थियो ।
आगलागीबाट स्थानीय लोचन रायको ४ बिघाको पराल, राजनारायण रायको ५ बिघाको धान सहितको पराल, फुसको कच्ची गोठ, भाग्य नारायण रायको एक बिघाको धान सहितको पराल र उपेन्द्र मण्डलको १५ कठ्ठाको धानसहितको पराल, फुसको गोठ जलेर नष्ट हुँदा चारै जनाको गरी ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।






