काठमाडौं । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना संक्रमण दर पुनः बढ्न थालेका छ । गत मंसिर अन्तिम सातासम्म संक्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । नयाँ संक्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ ।
गत मंसिर १८ गते प्रदेशमा ३४ कोरोना संक्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा संक्रमितको संख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो । ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् ।
प्रदेशमा ६५ कोरोना संक्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय संक्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा ५, सर्लाहीमा ३, पर्सामा ४, सप्तरीमा १ र बारामा १ जना कोरोनाको सक्रिय संक्रमित रहेको जनाएको छ ।
चिसो बढेसँगै जनजीवन प्रभावित
अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश २ को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् ।
चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।
वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामी बढ्न सक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ । रासस






