सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारी साधनहरुलाई कारबाही गरेको छ । फागुन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले दुई हजार वटा सवारी साधनलाई कारवाही गरी रु १९ लाख ९८ हजार राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले बताउनु भयो ।
जिल्लाबाट ८ सय ६२ वटा ट्रक, ४९ वटा बस, ३ सय १३ वटा कार, जिप र भ्यान, १ सय ८५ वटा ट्याक्टर, ५ सय ५१ वटा मोटरसाईकल र अटो टेम्पो गरि ४० वटालाई कार्बाही गरि सो मात्रामा राजश्व संकलन गरेको हो । फागुन महिनामा ६८ वटा सवारी साधन दुर्घटनामा संग्लग्न हुँदा ४८ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । जसबाट ५ जनाको मृत्यु, ५० जना गंभिर घाइते र ८ जना सामान्य घाइते भएका छन् ।
सबैभन्दा बढी मोटरसाईकल ४२ वटा र सबैभन्दा कम टेम्पो, बस र टिपर २÷२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका ट्राफिक प्रहरी प्रमुख दोङले बताउनु भयो ।
ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुई जनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकल लगायत सवारी साधनलाई कारवाही गरिएको उहाँले बताउनु भयो । ट्राफिक प्रहरीले फागुन महिनामा मात्र ११ वटा ओभरलोड बोकेका मालबाहक सवारी ट्रकलाई यातायात कार्यालय पठाएको छ । ११ वटा ट्रकलाई यातायात बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
ओभरलोड बोकेका मालबाहक सवारी साधनलाई यातायात कार्यालय पठाएपछि यातायात कार्यालयले कार्बाही गरि रु ९६ हजार ६ सय ५७ जरिवाना गरेको छ । ट्राफिक प्रहरी प्रमुख भएर प्रहरी निरिक्षक दोङ सर्लाही आएपछि आक्रामक बनेको सर्लाही ट्राफिक प्रहरीले जिल्लाको सवारी व्यावस्थापनमा निकै चासोका साथ काम गरेको छ ।
भारतिय नम्बरका सवारी साधनको हालीमुहाली रहेको सर्लाहीमा पछिल्लो समयमा त्यस्ता सवारी साधनहरु निकै कम भएका ट्राफिक प्रहरीले दाबी समेत गरेको छ । ट्राफिक प्रहरीका अनुसार कोरोना भाइरसका कारण सिमानाका बन्द भएपछि भन्सार नखुलेका कारण भारतिय सवारी साधनलाई कार्बाही गर्न समेत समस्या भएको छ ।
“भन्सार खुलेको भए जरिवाना गर्न पाइन्थ्यो भन्सार खुलेको छैन जरिवाना गर्न मिल्दैन सवारी होल्ड गर्ने हो त्यै पनि धेरै समय होल्ड गर्न मिल्दैन, भन्सार नखुलेका कारण समस्या भयो ।” ट्राफिक प्रहरी निरिक्षक दोङले बताउनु भयो । भन्सार नखुलेका कारण जिल्लामा ट्राफिक व्यावस्थापनमा केही समस्या आएको र ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या पनि बढेको उहाँको भनाई छ ।






