सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ७ मा भएको दुर्घटनाको विषयमा उत्पन्न विवाद समाधन भएको छ । आइतबार राती करिब ९ बजे गस्तीमा रहेको प्रहरीको भेनसँग मोटरसाईकल ठोकिँदा भएको दुर्घटनामा इश्वरपुर नगरपालिका ५ का राम कुमार महतोको ज्यान गएको थियो ।
त्यस पश्चात आक्रोसित स्थानियले प्रहरीको भेन तथा इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासमा तोडफोड गरेका थिए । त्यस्तै स्थानिय र प्रहरी बीचको झडपमा करिब २ सय ५० जना सुरक्षाकर्मीहरु र स्थानिय आन्दोलनकारीका साथै इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतबारको घटनालाई लिएर आक्रोसित स्थानियले आन्दोलन गरेपछि मंगलबार दिउँसो ३ बजे देखि सो क्षेत्रमा निषेधाज्ञा समेत जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञा भोली (बिहीबार) साँझ ७ बजे सम्म जारी रहने छ ।
बुधबार (आज) ईलाका प्रहरी कार्यालय लालबन्दीमा भएको वार्ताले पीडितका परिवारलाई रु १० लाख क्षेती पुर्ति उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने, घटनाका सम्बन्धमा निष्पक्ष छानविन, पीडितका आश्रीत परिवारलाई रोजगारी र शिक्षा दिक्षाका लागि स्थानिय तह, उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मससँग अनुरोध गर्ने, प्रहरी र प्रदर्शनकारीहरु बीच भएको झडपबाट पुगेको क्षेतीको विवरण संकलन गर्ने, झडपबाट भएका घाइतेहरुको उपचार र क्षेतीपुर्तिको लागि कानुन अनुसार केन्द्रमा सिफारिस गर्ने, मृतकको शव बुझि परम्परा अनुसार दाहसंस्कार गर्ने र घटनासँग सम्बन्धीत सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्ने सहित ६ बुँदे सहमती भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।
बुधबार (आज) दिनभरको ईलाका प्रहरी कार्यालय लालबन्दीमा भएको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उप-अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेमो प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिनुभयो । निषेधाज्ञा जारी गरिएपछि सो क्षेत्र बुधबार दिनभर शान्त रहेको थियो ।




