सर्लाही । जिल्ला सदरमुकाम मलंगवामा टाउको छिनालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका–१० निवासी नागेन्द्र रायका छोरा ३० वर्षीय सुशील रायको शरीरबाट टाउको छिनालेको अवस्थामा आज (बिहीबार) बिहान शव फेला परेको हो ।
मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीनजिकैको खेतमा रायको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । (हिजो) बुधबार रातिबाटै सम्पर्कविहीन भएका सुशीलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरीले बरामद शवभन्दा ६१ मिटर पूर्व टाउको समेत बरामद गरेको छ । धारिलो हतियारले घाँटीमा प्रहार गरी सुशीलको टाउको छिनालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । हत्यामा संलग्नहरुको पहिचान नजिक पुगिसकिएको समेत प्रहरीले दाबी गरेको छ ।






