एजेन्सी । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले ओमिक्रोन भेरियन्टलाई निकै कम जोखिमपूर्ण सोच्नु भूल हुने चेतावनी दिएका छन् । पछिल्लो समय युरोपेली मुलुकमा कोरोनाका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च बनेसँगै डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो ।
मंगलबार फ्रान्समा एकैदिन ५ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । डब्ल्यूएचओ प्रमुखले पछिल्लो एक सातामा विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै १ करोड ८० लाखभन्दा धेरै नयाँ संक्रमित थपिएको बताए ।
उनले यसलाई कम घातक भन्ने बुझाइ गलत रहेको पनि उल्लेख गरेका छन् । उनले विश्वभरका नेताहरुलाई कोरोना नियन्त्रणको लागि आवश्यक कदम चाल्न पनि आग्रह गरेका छन् ।
उनले कोरोना खोप निकै कम मानिसलाई मात्र दिइएको मुलुकमा खोप अभियान बढाउनु जरुरी रहेको बताएका छन् । कोरोना खोप नलगाएका मानिसलाई स्वास्थ्य जडिलता देखिने सम्भावना धेरै रहेको उनको भनाइ छ ।
डब्ल्यूएचओको इमर्जेन्सिजका निर्देशक माइक रयानले पनि ओमिक्रोन भेरियन्ट फैलिएसँगै अस्पतालमा भर्ना हुने र संक्रमणको कारण मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको बताएका छन् । उनका अनुसार खोप लगाउनेको संख्या निकै कम भएका मुलुकमा यो संख्या झन् बढी देखिएको छ ।




