काठमाडौं । यसवर्षको महामूर्खको उपाधि चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ । रङ–अबिरको पर्व होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अन्तर्गत यस वर्षको महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई प्रदान गरिएको हो ।
मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । आइतबार जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा महजोडीलाई उपाधि प्रदान गरिएको हो । यस वर्षको मूर्ख सिरोमणि उपाधि भने प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । जनकपुरधाममा मिनापले प्रत्येक वर्ष मनाउने होरी महोत्सव र महामूर्ख सम्मेलन यहाँको प्रमुख आकर्षण मध्येको एक हो ।
मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरेको थियो । ०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुरलाई प्रदान गरिएको थियो । त्यस्तै, ०७६ सालमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।






