सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही–रौतहट जोड्ने वाग्मती नदीको पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा हरिवन नगरपालिका–५ का ३५ वर्षीय सुनिल बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वाग्मती नदीको पुलमा टिपरले दिएको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारका लागि रौतहटको चन्द्रपुरस्थित चन्द्रपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठक्करबाट बम्जनको टाउकोमा गहिरो चोट लागेको थियो । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




