सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ मा निर्माण सुरु भएको १ सय २१ बिघा क्षेत्रफलको नगर पोखरीको काम अन्तिम चरणमा पुगेको छ । सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमती नदी किनारमा नगरको दिगो विकास र समृद्धिको मेरुदण्डको रूपमा पोखरीको निर्माण सुरु गरिएको गौरवको आयोजना पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो ।
पोखरीको माध्यमबाट नगरको आर्थिक समृद्धिंसगै पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनु भयो । माघ दोस्रो हप्ताबाट पानी भर्न सुरु भएको पोखरीमा पानी भर्ने काम निरनतर रहेको र पोखरीको अवलोक गर्न आउने आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको नगरपालिकाले जनाएको छ ।
बागमती नदीको उकास जग्गामा देशकै ठूलो मानव निर्मित पोखरी बनाउने योजनासहित गत वर्षबाट निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ । नगरको योजना अनुसार पोखरीलाई चारैतिरबाट पर्खालले घेरिएको छ । निर्माणको लागि डिजाइन, पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो र तेस्रो चरण अन्तरगतको (फिनिसिङ) सौन्दर्यकरणको काम सुरु भएको सुरु गरिएको छ । दीर्घकालीन नगरको मुख्य आयस्रोतको रुपमा समेत प्रयोग हुने गरी पोखरीको परिकल्पना गरिएको नगरप्रमुख थापाले दाबी गर्नुभयो । पोखरी देशकै नमुना बन्नेमा आफु ढुक्क रहेको नगर प्रमुख थापाको भनाई छ ।
१ सय २१ बिघा क्षेत्रफलको मानवनिर्मित पोखरीमा माछा पालन सगै मुख्यरूपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको छ । पोखरीमा बोटिङ, स्विमिङ, सँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुने नगरपालिकाको योजना शाखाले जनाएको छ ।
पुर्व पश्चिम लोकमार्गबाट २ किलोमिटर दक्षिणमा रहेको पोखरी अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागि समेत विश्रामस्थल र स्थानीय स्तरमा रोजगारी, वातावरण शुद्धीकरण तथा जलचर प्राणीको संरक्षणसमेत रहेको छ ।
स्थानीय, प्रदेश र केन्द्र सरकार तथा अन्य निकायबाट समेत आर्थिक सहयोगमा निर्माण भएको पोखरीको हालसम्म रु २५ करोड लगानी भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले जनाउनु भयो ।
पोखरी निर्माण सम्पन्न गर्नका लागि करिब रु ६० करोड लागानी लाग्ने अनुमान रहेको उहाँको भनाई छ । नगरपालिकाले गरेको प्रक्षेपण अनुसार उक्त पोखरीबाट नगरले बर्सेनि करिब रु २० करोड आम्दानी गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताउनुभयो ।
अहिले पोखरीमा पानी भरिएसगै त्यसको अवस्थाको बारेमा निरीक्षण गर्ने कार्य भैरहेको छ । पोखरीमा भरिएको पानीको मात्रा जमिनमा कुन मात्रामा सोसियको छ, जमिनको कुनै अवस्थामा आएको परिवर्तन समेत प्राविधिकहरुले निरीक्षण गर्ने काम भैरहेको नगरका सव ईन्जिनियर सुजन बडालले जानकारी दिनुभयो ।
देशभरका ७ सय ५३ स्थानिय निकाय मध्य विकास निर्माण लगायतका हिसाबले अगाडी रहेको यस बागमती नगरपालिकाले आफ्नो नगरको भौतिक संरचना लगायत स्वास्थ्य, शिक्षा, खानेपानमा पनि त्यतिकै लगनसिलता देखाएको छ ।






