सर्लाही । सर्लाहीको नयाँरोडमा मंगलबार दिउँसो साइकल यात्रीलाई जोगाउन खोज्दा एउटा मालबाहक ट्रक पुलमुनि खसेको छ । किराना समान बोकेर पश्चिमतर्फबाट आइरहेको ना ५ ख ४२२५ नम्बरको ट्रक अगाडि रहेका साइकल यात्रीलाइ जोगाउन खोज्दा नयाँरोडस्थित हरिवन र बागमती नगरपालिकाको सीमामा पर्ने हरिवन राईखोला पुलबाट तल खसेको हो ।
ट्रक पुलको रेलिङ भत्काएर तल खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिनुभयो । दुर्घटनामा ट्रक चालक मकवानपुरका २४ वर्षीय नवराज गौतम घाइते भएका छन् ।
घाइते गौतमको हरिवनमा उपचार चलिरहेको छ भने साइकल यात्री भने सकुशल रहेका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरि निरीक्षक भुपेन्द्र गिरिले जानकारी दिनुभएको छ । घटनास्थलमा पुगेका ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले दुर्घटनामा ठूलो मानवीय क्षति टरेको बताए । पुलमुनी खसेको बस खोलामा गएर पल्टिएको ट्राफिक प्रहरी निरीक्षक दोङले बताउनु भयो ।




