सर्लाही । सर्लाहीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) विना नै अधिकांश अटो रिक्सा तथा टेम्पु निर्वाध रुपमा सञ्चालन आएका छन् । जिल्लाका शहर बजारदेखी गाउँघरसम्म पुग्नलाई सहज सवारी साधनको रुपमा रिक्सा, अटोलाई नै लिने गरिन्छ ।
एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न अटो रिक्सा तथा टेम्पु सबैलाई सहज भएको छ तर अटो चलाउने अधिकांश चालकसँग लाइसेन्स छैन । भने, त्यस्ता सवारी साधनहरुसंग भाडा लिष्ट समेत छैन ।
जिल्लामा करिब ३ सय भन्दा बढी अटो, रिक्सा तथा मयुरी सञ्चालीत छन् । त्यसमध्य करिब २ सय भन्दा बढी सवारी चालकहरुसंग सवारी चालक अनुमतीपत्र लाइसेन्स नहुँदा दुर्घटनाको जोखिम समेत उतिकै बढेको छ ।
जिल्लाका प्रमुख शहर तथा ग्रामीण क्षेत्रमा चल्ने अधिकांश सवारी साधनका चालकसँग चालक अनुमति पत्र लाइसेन्स नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो ।
उहाँका अनुसार अधिकांश चालकले अनुमतिपत्र विना नै अटो रिक्सा तथा टेम्पु चलाउने गरेको भन्दै बेलाबेलामा छड्के चेकिङ ट्राफिक प्रहरीले गर्ने गरेको छ ।
सवारी लाइसेन्स विहिन अटो रिक्सा तथा टेम्पु चालकका कारण सवारी दुर्घटना बढेको भन्दै त्यस्ता सवारी साधन चलाउने माथि रोक लगाउनु पर्ने स्थानीयहरुले बताएका छन् । भने निजी नम्बर प्लेटका त्यस्ता सवारी साधनहरुले भाडाको सवारी झैँ सञ्चालनमा रहेका छन् ।
जिल्लामा सञ्चालीता साना तथा ठुला र मालबाहक तथा यात्रुबाहक सवारी साधनहरुसंग भाडा लिष्ट छैन । जसका कारण दिन प्रतिदिन स्थानिय नागरिक ठगिदै आएका छन् ।
दिनप्रति दिन अटो रिक्सा तथा टेम्पु र मयुरीको चाप बढदै गएको र ट्राफिक नियमको उल्लंघन समेत धेरै मात्रामा हुँदा दुर्घटना समेत बढेपछि सिमित गतिमा चलाउन, तोकिएको स्थानमा मात्र पार्किंग गर्न, रुट परमिट लिन र भाडा दर टाँस गर्न समेत आफुहरुले आग्रह गरि रहेको प्रहरी निरिक्षक दोङ्गले बताउनुभयो ।
तर अटो, रिक्सा र मयुरी चालकहरुको मनोमानी पनि बढेको पाइएको छ । अटो रिक्सा तथा टेम्पुलाई व्यवस्थित गर्न सके सवारी दुर्घटनामा समेत कमी आउने रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव साहले बताएका छन् ।
जिल्लाका अधिकांश टेम्पु चालकहरु पहिलाको रिक्सा चालकहरु रहेका कारण अहिले उनिहरुसंग सवारी चालक अनुमती पत्र नरहेको भएपनि अब उनिहरुले सवारी चालक अनुमती पत्र बनाउनु पर्ने र व्यक्तिगत रुपमा आफ्ना सवारी साधनहरुलाई चलाउनु पर्ने रौतहट सर्लाही यातायात व्यावसायी संघका अध्यक्ष राज कुमार मैनालीले बताउनु भयो ।
उहाँले आफु र आफ्नो सवारी नियमसंगत तरिकाबाट सञ्चालनमा आएमा सडक तथा सवारी सम्बन्धी कुनै पनि समस्या नआउने बताउनुभयो ।






