सर्लाही । सर्लाहीको उत्तरी क्षेत्र भएर बग्ने लखनदेही, फुलजोर र कालीन्जोर खोलाबाट ठेकेदार कम्पनीले गुण्डागर्दी शैलीमा नदीजन्य पदार्थको ब्यापक दोहन गरिरहेका छन् । जिल्लाको लालबन्दी र इश्वरपुर नगरपालिकाको सिमाना भएर बग्ने फुलजोर खोला र लालबन्दी र हरिवनको सिमाना भएर बग्ने लखनदेही खोलाबाट सम्झौता विपरित ठेकेदार कम्पनीले आधा दर्जन स्काभेटर प्रयोग गरी दादागिरी शैलीमा गिट्टी बालुवा उत्खनन् गरिरहेका स्थानियवासीहरुले बताउने गरेका छन् ।
पूर्व–पश्चिम लोकमार्गबाट ३ किलोमिटर दक्षिणबाट अत्यन्त गहिरो खाडल बनाएर गिट्टी बालुवा निकालेको भन्दै गाँउका केही युवाहरुको समुहले उत्खन्न गर्न अवरोध समेत गरेका थिए । भने, स्थानिय युवाहरुको अवरोध पछि केही दिन उत्खनन् रोकिएको भएपनि स्थानिय प्रहरी प्रशासन, स्थानिय निकायका नगर प्रमुख तथा उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको आडमा पुनः अवैध दोहन सुरु भएको छ ।
जिल्लाका नदीहरुमा अहिले उत्खनन् भइरहेको ठाउँमा ८/१० वटा स्काइभेटर तथा जेसिबी र सय भन्दा बढी टिपर दौडीरहेका छन् । नगरपालिकाको निर्देशनमा आफ्ना गलत कामको प्रमाण लुकाउन उत्खनन् गरिएका ठूलठूला खाडल पुरिएको इश्वरपुर नपा–१३ का स्थानिय राकेश महतोले बताएका छन् । त्यस्तै लखनदेहीको दोहन गरि रहेको गजुरमुखीले खनेर ठुला पारेको खाडल पुर्न सुरु गरेको छ ।
खोलामा उत्खनन् गरिएका नदीहरुमा १२ देखि १५ फीट गहिरो खाडलको प्रमाण मेटाउन जिल्लाका स्थानिय नै लागि परेका छन् । फुलजोर खोलामा भएको दोहनको प्रमाण लुकाउन इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज देवकोटा, वडा नम्वर १३ का वडाध्यक्ष रामकरण महतो र प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देवकोटा नै लागि परेका छन् । स्थानियबासी महतोले ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधी समेतको मिलेमतोमा अबैध उत्खनन् भइरहेको आरोप लगाएका छन् ।
खोला उत्खन्नको अनुमती पाएको सुकन्या वशिष्ट कन्ट्रक्सनले अबैध ढंगले नदिजन्य पदार्थ निकालेको इश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष महतोले स्विकार गरेका छन् । नदी दोहनमा बनाइएका ठुला ठुला खाडलका कारण सो क्षेत्रका दर्जनौ गाउँ डुवानमा पर्ने त्रास बढेको छ भने उर्वरभुमी कटानको चपेटामा पर्ने स्थानिय गोपाल बम्जनले बताए ।
यसरी विकासको नाममा जथाभावी गहिरो खाडल खनेर बस्तिलाई नै जोखिममा पार्ने गरी नदीजन्य पदार्थ उत्खनन् गर्न नहुने बम्जनको भनाई छ । प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भए अनुसार काम गर्ने सहमतीमा काम सुरु गरेको गजुरमुखी कन्ट्रक्सनले पनि लखनदेही खोलामा मापदण्ड विपरित कामगरि रहँदा समेत सरोकारवाला निकाय स्थानिय सरकार र जिल्ला समन्वय समिति सर्लाही मौन देखिन्छ ।
ठेकेदार कम्पनीले जहाँ पायो त्यही मनपरी रुपमा उत्खनन् गरेको छ । उत्खनन् गरिएको स्थानमा १२ देखी १५ फिट भन्दा गहिरा खाडल बनाइएदा समेत सरोकारवाला निकाय स्थानिय सरकार र जिल्ला समन्वय समिति सर्लाही मौन देखिएको छ ।
ठेकेदार कम्पनीले उत्खन्न गरे पछि निरिक्षण गर्नु पर्ने नगरपालिका कार्यलयका कर्मचारी तथा जनप्रतिनिधीले स्थानीयबासीबाट आएको गुनासोमा कुनै वास्ता नगर्नुले उनिहरुको समेत मिलेमतो रहेको आशंका स्थानीयले गरेका छन् ।
खोला उत्खननले पटक पटक अप्रिय घटना भएका घटना स्थानिय जनप्रतिनिधिहरुलाई जानकारी भएपनि उनिहरुको तेतातिर ध्यान पुग्न नसकेको देखिएको छ । तर जनप्रतिनिधिहरुले आफुहरुको कुनै मिलेमतो नरहेको बताएका छन् ।
प्रमुख प्रशासकिय अधिकृतहरुले आफुहरुलाई अनुगमनको जिम्मेवारी नरहेको बताएका छन् । साथै सम्झौता हुँदा आफुहरु अन्यन्त्रै रहेको र पछि सरुवा भएर आएका कारण के विषयमा सहमती भएको भन्ने बुझ्नु पर्ने स्थानिय निकायका प्रमुख प्रशासकिय अधिकृतहरुले बताएका छन् ।






