काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
आजदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक सवारीमा जोर बिजोर हटाएर निजी सवारीमात्र कायम राखिएको थियो । आजदेखि त्यसलाई पनि हटाइएको हो ।
यस्तै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै बन्द भएका क्षेत्रहरु पनि खुल्ला गर्ने सरकारले निर्णय गरेको छ । फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको हो । तर विद्यालय सञ्चालन गर्दा प्रशासनले शर्त राखेको छ ।
१२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्न सकिने भएपनि १२ वर्ष पूरा नभएको विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ । विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनको आदेश छ ।




