रौतहट । चन्द्रपुर नगरपालिकाले जनप्रतिनिधिको नेतृत्व पाएको तीन वर्ष नाघिसकेको छ । यो अवधिमा विकासका कतिपय कार्यक्रमले गति लिएका छन् । कतिपय महत्वपूर्ण काममा भने सिन्को भाँच्नेसम्म भएको छैन ।
स्थानीय सरकारको रूपमा काम पनि अघि बढेकै छ तर अहिले पनि बाटो बिराए जस्तो, अझै धेरै गर्नुपर्नेमा गर्न नसकिए जस्तो भान भइरहेको छ । नगरपालिकाले थालेका कतिपय काममा ढिलासुस्ती हुने गरेको जनस्तरमा गुनासो बढ्ने क्रम रोकिएको छैन । सडक तथा ढल निर्माण परियोजना अन्तरगत कामको गुणस्तरीयता, अनुगमन र सुधारको विषयमा समेत प्रश्न उठ्ने गरेको छ ।

चन्द्रपुर नगरपालिकाका स्थानिय एवम् व्यापारी दिवाकर सापकोटा ढल निर्माणको काममा देखिएको ढिलासुस्तीले आक्रोशित बनेका छन् । उनी भन्छन्, “बिकासको नाममा बिनास हुनु त ठिकै छ ।। तर त्यो कदमले अन्य व्यावसायिक कुराको बिनास हुनु चै गलत कुरा हो ।। नाला बनाउने बिकासे परियोजना कति दिन भित्र बनाउने एग्रीमेन्ट छ । कि तीन महिना पूरा लगाउने छुट छ, हैन भने यो ब्यस्त बजारमा हामी ब्यापारीलाई असहज हैन सहज बनाउने गरि काम गर्नुस, अधिकतम क्षमता प्रयोग गर्नुस,अनि मात्र तपाईंलाई भोट दियर जितायको गर्व हुन्छ । हैन भने बिथिती विरुद्धमा एकजुट भयर व्यापारीहरु उत्रने छन ।”






