सर्लाही । सर्लाही प्रहरीले सर्लाहीको नवलपुरबाट शनिबार बिहान ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको योद्धा पिकअप गाडीमा माछा बोक्ने ड्रमभित्र लुकाएर ल्याइएको गाँजासहित दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाडीचालक धादिङको सिद्धलेक गाउँपालिका–६, बस्ने २२ वर्षीय सुरेन्द्र विक र सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ बस्ने ४८ वर्षीय भीमलाल मोक्तान रहेका छन् ।
त्यस्तै माछा बोक्ने प्लाष्टिकका दुई वटा ठूला ड्रमभित्र लागूऔषध गाँजा लुकाई छुपाई ल्याउँदै गरेको सुराकीको आधारमा लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थकेयर अगाडि सो गाडीलाई रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता कृष्ण गिरिले जानकारी दिनुभयो ।
बरामद गरिएको गाँजा मकवानपुरतर्फबाट ल्याइएको हुन सक्ने प्रहरीको आशङ्का छ । प्रहरीले गाडी चालक विक र गाँजा ओसार पसारमा संलग्न मोक्तानको साथबाट ८५ हजार नगद र दुई थान मोवाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रबक्ता कृष्ण गिरिले जानकारी दिनुभयो ।






