काठमाडौं । कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गर्यो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार कुशलले अर्धशतकीय इनिङ्स खेल्दा मलेसियालाई सहजै पराजित गरेको हो ।
मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितका नायक बनेका कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।
कुशलको उत्कृष्ट प्रदर्शन देखेर गायक तथा नेपाली क्रिकेटका समर्थक प्रमोद खरेलले नेपाली टोलीलाई बधाई दिँदै कुशलको खुलेर तारिफ गरेका छन् । नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो ।
शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै नेपालको सहज जीतका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले कुशलसँग १ सय २ रनको साझेदारी गरेका थिए ।







