सप्तरी । सप्तरीमा एक महिलाले बीमाको रकम हात पारेर ऋण चुक्ता गर्ने सोचका साथ श्रीमानकै हत्या गरेको रहस्य खुलेको छ । यो घटना कञ्चनरुप नगरपालिका ३ दास टोलको हो ।
गत कात्तिक ६ मा ३७ वर्षीय शिवशंकर दास मृत अवस्थामा फेला परेका थिए । सुरुमा करेन्ट लागेर उनको मृत्यु भएको भनियो । तर, पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धानमा बीमाको रकम हात पारेर ऋण चुक्ता गर्न श्रीमती कौशिला देवीले नै करेन्ट लगाएर शिवशंकरको हत्या गरेको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले मृतक शिवशंकरकी श्रीमती कोशिला, भाई बुहारी हिरन देवी र नातामा भाउजु पर्ने शान्ती देवीलाई पक्राउ गरेको छ । हत्यामा तीनै जना संलग्न रहेको र उनीहरुले नै करेन्ट लगाएर हत्या गरिएको स्वीकारेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रहरीका अनुसार ऋण चुक्ता गर्न शिवशंकरको हत्या श्रीमती कौशिलाले भाई बुहारी र नातामा भाउजु पर्नेको योजनामा गरेको अनुसन्धानबाट खुलेको छ । कोशिलाले छोरीको विवाह गर्न र बीमा गराउनका लागि शान्तीसँग ऋण लिएकी थिइन् । तर, ऋण चुक्ता गर्न नसक्दा शान्तीले कोशिलालाई दिनरात तनाव दिँदै आएका थिइन् ।
ऋण तिर्न नसक्ने अवस्था देखेर शान्तीले नै कोशिलालाई श्रीमानकै हत्या गर्न र त्यसपछि बीमाबाट आउने रकमले ऋण तिर्न सुझाएकी थिइन् । उनकै सुझावमा शान्ती सहमत भइन् र श्रीमानको हत्या गर्ने योजना बनाएकी थिइन् ।
योजना बमोजिम शान्तीदेवीले कात्तिक ५ मा शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाइन् । नशा चढेपछि शिवशंकरलाई उनले घर पठाइन् । घर गएर सुतेपछि श्रीमती कोशिलाले बायाँ हातमा करेन्ट लगाएर हत्या गरेको खुलेको छ ।
श्रीमानलाई करेन्ट लगाउँदा कोशिलालाई देउरानी हिरन देवीले सहयोग गरेकी थिइन् । उनको मृत्युपछि कोशिलाले नै प्रहरीमा फोन गरेर करेन्ट लागेर मृत्यु भएको खबर गरेकी थिइन् ।
हातमा तार बेरिएको अवस्थामा शिवशंकर मृत फेला परेपछि नै घटना शंकास्पद देखिएको थियो । प्रहरीले अनुसन्धान गर्दा सत्य बाहिर आएको हो । घटनामा संलग्न तीनै जनामाथि थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।






