रौतहट । माधवनारायण नगरपालिका–४ मानपुर बिसुनपुर्वा गाउँमा आइतबार अपराह्न भएको भिषण आगलगीमा २१ घर जलेर नष्ट भएको छ । आगलागीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्न लगायतका लत्ताकपडा, नगद र गरगहना जलेर क्षति पुगेको छ ।
घरमा आगो लागेको झन्डै २ घण्टापछि चन्द्रपुर र सदरमुकाम गौरबाट बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । मानपुरका स्थानीय जिउत मुखिया विनको घरबाट सल्किएको आगो पालैपालो गरी २१ घरमा पुगेको थियो ।
फुसको, खपडा र पक्की घरमा सल्केको आगोले पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । जितउको घरमा खाजा बनाउन लाग्दा आगो सल्किएको थियो ।
आगलागी सुरु हुनासाथ बारुणयन्त्र पठाउन स्थानीयले प्रहरीलाई अनुरोध गरेका थिए । तर, सदरमुकाम गौर र चन्द्रनिगाहपुरमा मात्र बारुणयन्त्र भएकाले समयमा पुग्न नसकेपछि आगो नियन्त्रणमा आउन समय लागेको थियो ।






