विराटनगर । मोरङको रंगेली नगरपालिका ३ आमतोलामा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । ट्याक्टरमा सवार १८ जना घाइते भएका छन् । तेतरिया-आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर बिहान १०:१० बजेतिर दुर्घटनामा परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिएको जानकारी अनुसार दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका ५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका ३ की २० वर्षीया जानकीकुमारी माझी, ग्रामथान ५ की ४० वर्षीया किचनीवती चौधरी, रंगेली २ की सुनवर्ती चौधरी, २७ वर्षीया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी रहेका छन् ।
त्यस्तै ग्रामथान ५ की ४३ वर्षीया पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, विराटनगर महानगरपालिका ४ की ३५ वर्षीया सुशीला चौधरी, ५५ वर्षीय टेकनारायन माझी, ग्रामथान ५ की २६ वर्षीया अनिता माझी, ६५ वर्षीया दुखिया चौधरी पनि घाइते भएका छन् । मधुराम माझी, ५० वर्षीय गुलाबचन माझी, ३५ वर्षीया रीता चौधरी, २५ वर्षीया सुनीता भगत, रीताकुमारी माझी, उनका छोरा ५ वर्षीय रितेष माझी र ग्रामथान ६ का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको डीएसपी दाहालले बताए । उनका अनुसार रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो ।




