काठमाडौं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ८ मजुवा मर्चहवा बस्ने ५३ वर्षीय साधु भनेर चिनिने तीलकराज भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हो । प्रतापपुर गाउँपालिका कै बैरियामा रहेको घरमा छोरी छोरीहरू बस्दै आएपनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।

सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । हत्या पश्चात उनीहरूको शव आँगन देखि १०/१५ मिटरसम्म फालिएको थियो । खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।






