आज देशको अर्थतन्त्र सुधारउन्मुख हुनुपर्नेमा झन् झन् पछाडी गइरहेको छ । अहिलेको प्रमुख समस्या भनेकै बेरोजगारी हो, जसलाई म ‘भयानक रोग’ पनि भन्छु । बेरोजगारले कहाँ आराम पाउँछन् र ? रोजगारीको खोजीमै उ सुख शान्तिबाट वञ्चित भइरहेको हुन्छ, अनि त्यही दु:खी व्यक्तिलाई कसैले प्रश्न सोध्छ- ‘तिमी के गरिहेका छौं ?’
जब उसले जवाफ दिन थाल्छ, अगाडिको व्यक्तिले उसलाई नयाँ प्रश्न गर्छ । उसले पहिलो प्रश्नको जवाफ दिन सकिरहेको हुँदैन र उ आफैसँग निराश हुन पुग्छ । सोच्छ, आज मसँग काम भइदिएको भए म सबै प्रश्नको जवाफ दिने थिएँ ।
बेरोजगारी कुनै क्षेत्रको मात्रै होइन देशकै ठूलो समस्या हो । बेरोजगारीको प्रभावले जहाँ देशको विकास प्रभावित हुन्छ, त्यहाँ त्यसको प्रभावबाट आम मानिस असहाय बनेको देखिन्छ ।
वास्तवमा बेरोजगारीमा मानिससँग कमाउने काम हुँदैन । उनीहरु दिनभर काम विना भौतारिन बाध्य हुन्छन् । अर्को शब्दमा भन्नुपर्दा, बेरोजगारी भनेको युवाको जीवन बर्बाद गर्ने पीडा हो । जसको प्रभावले युवाको सारा सपना चकनाचुर भएर जान्छ । कहिले काहीँ यो सामाजिक अभ्यासले युवाहरूलाई यति स्तब्ध बनाउँछ कि तिनीहरू संसारबाट टाढा जान्छन् ।
यस्तो अवस्थामा बेरोजगारी हाम्रो परिवार, समाज, राज्य र देशका लागि कति खतरनाक छ भन्ने कुरा हामी आफै पनि बुझ्न सक्छौं । उनीहरुलाई रोजगारी दिने प्रभावकारी नीति सरकारसँग छैन । बेरोजगार युवाको सपनालाई पखेटा दिने व्यवस्थापनमा उचित योजनाको अभाव छ ।
सरकारले कर्मचारी भर्नाका लागि बेरोजगारबाट फारम शुल्कको नाममा करोडौं रुपैयाँ राजस्व उठाउने गरेको छ । कहिले काहीँ लिखित परीक्षा उत्तीर्ण गरेर आयोगका सबै अनिवार्य औपचारिकता पूरा गरेर पनि अन्तिम नतिजाको आशामा युवाहरु वर्षौंसम्म बेरोजगार हुन बाध्य हुन्छन् । उनीहरु शैक्षिक योग्यताको प्रमाणपत्र लिएर दैनिक कामको खोजिमा भौतारिरहेका हुन्छन् । बिहान फुर्तीका साथ घरबाट निस्केका युवा बेलुका निराश हुँदै फर्किन्छन् । यो चक्र निरन्तर चलिरहन्छ ।
भत्किएका घर, बन्द कलकारखाना, भग्नावशेष जमिन, रोजगार कार्यालयका छरिएका फाइलहरू, आफ्नो परिवार, समाज र देशको सेवामा समर्पित हुने युवाको चाहना आँखामा जलिरहेको हुन्छ । देशको भविष्य, राष्ट्र निर्माणको सपना हातमा हथकडी लगाएर जेलमा बसेका कैदी झै भड्किरहेको हुन्छ ।
भ्रष्टाचार, घुसखोरीका कारण अयोग्यले काम गर्न थालेपनि योग्यले सडकका धुलो खाँदै भौतारिरहेका हुन्छन् । लबिङ र पैसाले जागिर पाउनेलाई समाजले हेर्न थाल्छ, माया र सम्मान दिन्छ र बेरोजगारीको अपमान गर्ने गर्छ ।
सबै सफल व्यक्तिहरू पछाडिको ढोकाबाट काममा गर्छन् भन्ने होइन, तर हामी समाजमा व्याप्त भ्रष्टाचार र अराजकताको कुरा गरिरहेका हुन्छौं । उही भ्रष्ट समाजले बेरोजगार युवालाई सोध्छ- ‘के हुँदैछ बाबु/नानी ?’ ‘अरे, अब कति पढ्नुहुन्छ ? पढाइ छोडेर केही ब्यापार सुरु गर्नुस् ??’ तब त्यो बेला तपाईको आँखाबाट पानीको सट्टा रगतको आँसु बग्न थाल्छ ।
कतिपय असफल युवाहरु फेरी त्यही १० फिटको कोठामा किताबको दुनियाँमा गएर किताबलाई सोध्छन्- ‘हामी परिश्रममा कहाँ चुक्यौँ ? तिमीलाई थाहा छ मैले कति पल्ट तिमीलाई मेरो मनमा राखेको छु तर समाजले मेरो मिहिनेतमा शंका गरिरहेको छ ? के यो असफलतामा सबै मेरो दोष हो ?’
आखिरमा भौतारिँदा भौतारिदै युवाका आफ्नो सपनाहरु खुम्चदै जान्छन् । र, एउटै बाटो खुला रहन्छ, बैदेशिक रोजगार । श्रम भिषा च्यापेर युवाहरु आखाँबाट आसुका धारा बगाउँदै परिवारको इच्छा, चाहना र सपना पूरा गर्ने अठोट सहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिन्छन् ।
अहिलेको युवाहरुमा भएको मूख्य समस्या भनेको सीप, दक्षता एवम् कार्य क्षमताको पनि अभाव छ । काम गर्ने तत्परता भएका, हातमा सीप भएकाहरुलाई नेपालमा पनि भ्याइ नभ्याई छ । जताततै दक्ष कामदारको अभाव छ ।
मिस्त्री काम गर्नेहरुको दैनिकी नियाल्नुहोस्, सास फेर्ने फुर्सद छैन । पानीपुरी-चटपटे बेच्नेहरुको दैनिक आय हेर्नुहोस्, हजार, पन्ध्रसय सजिलै कमाउँछन् । यहाँ सीप र दक्षता भएकाहरु खाली हात बस्नुपरेको छैन । समस्या एउटै छ, त्यो हो ‘शैक्षिक बेरोजगार’ ।




