जनकपुरधाम । धनुषामा ४२ वर्षीया एकल महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा शव गाडेर फरार भएका उनका २२ वर्षीय प्रेमी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा बस्दै आएका मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेका छन् ।
उनी मृतक महिलाको प्रेमी रहेको खुलेको छ । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
अनुसन्धानको क्रममा जेठ २५ गते बिहिबार राति ११ बजेको समयमा ओमलाल र उषाबीच विवाहकै विषयमा विवाद हुँदा ओमलालले एक थप्पड हानेपछि उषा बाहिर निस्केर भाग्न लाग्दा घाँटी थिचेर मारेको कुरा स्वीकार गरेको बताइएको छ ।
उषाको मृत्यु भएपछि उनको शवलाई पोखरीको छेउमा लगेर खाल्डो खनि चाँडो सडाउनका लागि कपडा खोलेर मृतकलाई खल्डोमा गाडी महिलाले प्रयोग गर्ने मोबाइल समेत पोखरीमै फालेर ओमलाल भागेका थिए ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखेर अन्य थप अनुसन्धान कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।






