काठमाडौं । रोड सेफ्टीकै लागि साँघुरा सडकलाई फराकिलो पार्ने काम भइरहेको छ । तर, केही समययता देशमा जति सडक सुरक्षालाई महत्व दिइएको छ, त्यति नै मात्रामा दुर्घटना बढ्दै गएको छ । सडक सुरक्षा र सडक दुर्घटना सँगसँगै अघि बढिरहेको देखिन्छ ।
कम उमेरको चालक, बढी गति, लेन अनुशासन पालना नगर्नु, जथाभावी ओभरटेक जस्ता कारणले नेपालमा सवारी दुर्घटना बढिरहेका छन् । यसैगरी, कच्ची सडक र कन्डिसनमा नभएका सवारी साधन पनि सवारी दुर्घटनाको अर्को कारण बन्ने गरेको छ ।
यसैबीच अहिले रौतहटको चन्द्रपुरमा भएको दुर्घटनाको विषय चर्चाको केन्द्रमा रहेको छ । गत निर्वाचनको अघिल्लो दिन अर्थात मंसिर ३ गते भएको दुर्घटनामा १० वर्षीय बालकले ज्यान गुमाएका थिए । उनको आमा सरस्वती तिमल्सिनाले भावविहोल हुँदै सामाजिक संजालमा भिडियो हालेसँग यस विषय चर्चाको केन्द्रमा रहेको छ । तराई अनलाइनसँगको कुराकानीमा समेत उनले हत्याराले उत्मुक्ती पाएको भन्दै सहयोग गरिदिनु हुन अनुरोध गरिन् ।

फोटो : ज्यान गुमाएका बालक
तिमल्सिनाले भनिन्- ‘मेरो छोराले ज्यान गुमाए तर सांसद देवप्रसाद तिमल्सिनाको पहलमा दोषीलाई उन्मुक्ति दिइयो । हामीले मुद्दा फिर्ता लिने सहमती गरेका पनि थिएनौं तर हाम्रो जानकारी विना अदालतबाट हाम्रो अनुपस्थित मै फैसला सुनाइयो, हामी न्याय खोज्न कहाँ जाने ?’ यस्तै उनले ‘के साच्चै हाम्रो देश पावर र पैसा भएकाको लागि मात्रै हो त ? अनि हामी जस्ता सोझा सिधा जनता सधै यसरी नै रुनु पर्ने हो ?’ भन्दै प्रश्न समेत गरिन् ।
यस विषयमा हामीले सांसद तिमल्सिनासँग पनि कुरा गरेका थियौं । उनले फैसलाको विषयमा आफूलाई केहि कुरा थाहा नभएको अवस्थामा आरोप लगाइएको बताए । उनले भने- ‘हाम्रो देशमा कानुन छ, नियम छ तर मलाई सामाजिक संजालमार्फत बेज्जत गर्ने कार्य भयो । अहिले पूर्वगृहमन्त्री त कानुनी कटघरामा हुनुहुन्छ भने म त सामान्य सांसद हुँ मैले भनेको अदालतले मान्छ र ? जिल्ला अदालतको फैसलामा चित्त नबुझ्ँदा माथिल्लो तहमा गएर पनि न्याय खोज्न सकिन्छ नि ? बालकले न्याय पाउनुपर्छ र त्यो निर्णय दिने अदालत छ, यसमा कुनै ब्यक्ती वा माननियको कुनै सरोकारको विषय होइन । निर्णय चित्त नबुझे उच्च अदालत, सर्वोच्च अदालत पनि छ ।’
यस्तै बालकको आमाले लाइसेन्स समेत नभएका चालकको लापरवाहीले नभई हत्या नै गरेको भन्दै हामीसँग दुखेसो पोखिन् । यस्तै उनले सांसदले भान्जालाई बचाउन खोजेको भन्दै आरोप समेत लगाइन् । यस विषयमा माननियलाई सोध्दा उनले यहाँका सबै बासिन्दा मेरो दाजुभाई, भान्जाभान्जी नै हुन्, मैले कसैलाई बचाउन खोजेको छैन । त्यस्तै, फैसलाको समयमा आफू काठमाडौंमा रहेको उनले बताए ।
यस्तै हामीले प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएका अभियुक्तका विषयमा जानकारी लिन खोज्दा उनको विषयमा हामीले कुनै जानकारी लिन सकेनौं । जिल्ला अदालत रौतहटमा सन्तोष तिमलसिनाले मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए जसको फैसला जिल्ला अदालतले जेष्ठ ३० गते गरेको थियो । माननीय जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएको थियो । अभियुक्त ६ महिना जेल सजाय तथा दुई हजार रुँपैया बुझाएर थुना मुक्त भएका थिए ।

लाइसेन्स नभएका चालकले गराएको दुर्घटना बारे कस्तो छ कानुनी व्यवस्था ?
चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी धनीले सवारी चलाउन दिन हुँदैन, दिएमा दुर्घटना भई मानिसको मृत्यु हुन गएमा त्यस्ता सवारी धनीलाई २ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।
उक्त कानुनी व्यवस्था अनुसार सवारी चालक अनुमतिपत्र बिना सवारी चलाइ भएको दुर्घटनाबाट ऐनको दफा १६१(१) वा (२) बमोजिमको कसुर कायम भएमा त्यस्तो कसुरदारलाई दफा १६१(१) वा (२) बमोजिम हुने सजायमा उक्त उपदफा (४) बमोजिको थप सजाय हुने छ ।
सवारी दुर्घटना सम्बन्धमा खास गरी मोटरसाईकल जस्तो व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक भारी सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने भन्ने सर्वोच्चमा उल्लेख छ । सर्वोच्चले नियमितभन्दा बाध्यात्मक र आकस्मिक अवस्थालाई एउटै रुपमा हेरेर सजाय गर्न नमिल्ने भनेको छ ।




