रौतहट । रौतहट जिल्लाको विभिन्न ठाउँबाट विद्युतीय ट्रान्सफर्मरका सर समानहरु चोरी गर्ने गिरोहसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्रान्सफर्मर भित्र रहेका तमाका तार चोरी गर्ने गिरोह रौतहटको गरुडा नगरपालिका नम्बर ६ पोठियाहीका अशोक साह, कटहरिया नगरपालिका नम्बर १ भसेढवाका रामलाल महतो, वीरेन्द्र राय र सुखल महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाका विभिन्न स्थानमा जडान भएका विद्युतीय ट्रान्सफर्मर एकपछि अर्को चोरी भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । गरुडा नगरपालिका नम्बर ४ का लक्ष्मीप्रसाद चौधरीको घरबाट ट्रान्फर्मरको तार ३ क्वीन्टल प्रहरीले बरामद गरेको थियो भने चोरीमा संलग्न भएका चारै जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले बताए ।
पक्राउ परेका व्यक्तिहरूले विभिन्न उपकरणको सहायताले पोलबाट तार काटेर ट्रान्सफर्मर तल झारी ट्रान्सफर्मरभित्र रहेका तामाका तार लगायत अन्य महँगो सामान झिक्ने गरेका थिए । पक्राउ परेका व्यक्तिहरुको साथबाट तामाका तार, तीन वटा मोटरसाइकल, एउटा आइफोन र तीन वटा अन्य मोबाइल बरामद गरिएको प्रहरी जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






